काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले सार्वजनिक सवारीमा आफ्नो फोटो टाँस्नु स्वभाविक भएको बताएकी छन् ।
मन्त्री यादवले सवारीमा आफ्नो फोटो टाँस्नु काम नभएपछिको सास्ती भोग्दा जनतामा उठेको आक्रोश भएको बताएकी हुन् ।
सडक समयमा निर्माण नभएपछि सार्वजनिक सवारीसाधनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री, सचिव र सडक विभागका महानिर्देशकको फोटो टाँसेर दबाब दिने क्रम बढिरहेको छ । यसकै विषयमा मन्त्री यादवले भनिन्, ‘पहिलेका मन्त्रीले काम गर्न नसकेपछि अहिलेको मन्त्री यही हो भनेर टाँसेको होला ।’
यस्तो विरोधलाई सकारात्मक रूपमा लिएको र जनताले विकास नपाउँदाको असन्तुष्टिका रूपमा बुझेको बताइन् ।उनले ‘यसलाई समाधान गर्नेतर्फ जानेछौँ । मुढे–चरिकोट सडकको चाँडै स्थलगत अवलोकन र अनुगमन गरी समस्याको समाधान निकाल्ने तयारीमा छौं ।’