धनुषा। जनकपुर उच्च अदालतले विद्यालयको जग्गा अतिक्रमण गरी पार्किङस्थल निर्माण नगर्न आदेश दिएको छ। जनकपुरधाम–८ स्थित राष्ट्रिय प्राथमिक विद्यालय दशरथनगरको जग्गामा पार्किङस्थल नबनाउन अदालतले अन्तरिम आदेश जारी गरेको हो ।
न्यायाधीशद्वय भोजराज अधिकारी र सागर विष्टको संयुक्त इजलासले यस्तो आदेश जारी गरेको छ । स्थानीयवासी बलदेव साह तेलीले जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय समेतलाई विपक्षी बनाई दिएको रिट निवेदनमा अदालतले यस्तो आदेश गरेको हो।
जग्गा अतिक्रमण गरी नगर सवारीसाधन पार्किङस्थल बनाउँदा विद्यालयमा ध्वनि प्रदूषण बढाउने र विद्यार्थीको पठनपाठनमा पनि ठूलो असर पर्ने भन्दै अदालतले निर्माण कार्यमा रोक लगाएको हो ।
जनकपुरधाम उपमहानगरपालिकाले आधुनिक पार्किङस्थल निर्माण गर्न नगरप्रमुख मनोजकुमार साह र उपप्रमुख किशोरी साहले वडा नं. ८, दशरथ मन्दिरको छेउमा रहेको करिब १२ कट्ठा जग्गामा गत माघ २७ गते पार्किङस्थलको शिलान्यास गरेका थिए ।