म्याग्दी। अन्नपूर्ण प्रथम हिमालबाट साढे तीन हजार केजी भन्दाबढी फोहोर संकलन गरिएको छ। नेपाली सेनाको हिमाल सरसफाइ अभियानमार्फत अन्नपूर्ण हिमाल र आधार शिविरबाट तीन हजार ५ सय किलोग्राम फोहर संकलन गरिएको हो ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा पर्ने ८ हजार ७१ मिटर अग्लो अन्नपूर्ण हिमालमा विसं २०७९ चैत १७ गते सेनाको सरसफाइ टोली पुगेको थियो। सेनाका १० र पिक प्रमोशन ट्राभल एजेन्सीका १३ जनाले ४८ दिनसम्म हिमाल र आधार शिविर क्षेत्रमा फोहर संकलन गरेर हिजो मंगलबार सफाइ टोली फर्किएको छ।
सफाइ अभियानको नेतृत्व नेपाली सेनाका सेनानी गजेन्द्र देउवाले गरेका थिए। क्याप्टेन भीमबहादुर भुजेलसहितको टोलीले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको चुचुरोसम्मै पुगेर फोहर सङ्कलन गरेको हो । एक हजार दुई सय किलोग्राम कुहिने र दुई हजार चार सय नकुहिने फोहर संकलन गरेको टोलीले जनाएको छ।