पोखरा। कास्कीको अन्नपूर्ण गाउँपालिकाले सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत अनलाइनबाटै राजस्व भुक्तानीको सुरूवात गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकीका सचिव मनमाया भट्टराई पंगेनी र गाउँपालिका अध्यक्ष बिष्णुबहादुर के।सीले संयुक्त रुपमा अनलाइन सेवाको आइतबार शुभारम्भ गरेका छन् ।
अब गाउँपालिकाको करदाता पोर्टल खोलेर सेवाग्राहीले आफ्नो विवरण एवं करको अभिलेख हेर्न र भुक्तानी गर्न सक्ने छन् । हाल कनेक्ट आइपीएस र इसेवासँग सम्झौता गरेर राजस्व भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ। स्थानीय तह भुक्तानी विकल्पमा गएर अन्नपूर्ण गाउँपालिका छनौट गरी सिधै भुक्तानीसमेत गर्न सकिने बताइएको छ।
प्रविधिको प्रयोगले समग्र कार्यसम्पादन र सेवा प्रवाहमा सुधार ल्याउने भएकाले प्रविधिलाई अगाडी बढाइएको गाउँपालिकाको भनाइ छ। प्रविधिमैत्री पालिका निर्माणमा विद्युतीय सेवाले इँट्टा थप्ने काम गरेको बताइएको छ। जनताले तीन सय रुपैयाँ कर तिर्न दुई हजार रुपैयाँ खर्चन पर्ने बाध्यता अन्त्य भएको छ।