धनगढी। धनगढीमा चार लेनको हुलाकी राजमार्ग बन्ने भएको छ । धनगढीको क्याम्पस रोडदेखि मनेहरासम्मको सडकलाई चार लेनको बनाउन लागिएको हो।
तीन किलोमिटरमा चार लेनको सडक बन्ने हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीले जनाएको छ । कालोपत्रेको काम अब अन्तिम चरणमा रहेको छ ।
पहिलो प्याकेजको तीन किलोमिटरमा चार लेन र अन्यतिर दुई लेनको सडक बन्ने जनाइएको छ । चार लेनमा १५ मिटर चौडाइ भएको कालोपत्रे र दुई मिटरको मेडियन बन्दैछ ।
धनगढीको क्याम्पस रोडदेखि कटैनी नदीसम्म पहिलो प्याकेज बनाइएको छ । चार लेनमा काम सकिएपछि मात्रै यो प्याकेजको बाँकी खण्डमा कालोपत्रेको काम अगाडि बढाउने तयारी भइरहेको छ ।
२०७७ साल असार १४ गते पहिलो प्याकेजको ठेक्का सम्झौता भएको थियो । थप गरिएको समय सीमा २०८० साल पुस ९ गतेसम्म यो खण्डको काम सम्पन्न गर्नुपर्ने छ । ३७ करोड ४२ लाख रुपैयाँमा ठेक्का पाएर स्वच्छन्द–जोशी जेभीले निर्माणको काम गरिरहेको छ ।
कैलालीमा सात वटा प्याकेज बनाएर हुलाकी राजमार्ग स्तरोन्नतिको कार्य भइरहेको छ । आर्थिक वर्ष २०६४र६५ देखि हुलाकी राजमार्ग निर्माणको कार्य सुरु भएको थियो ।