काठमाडौं। उपत्यका सडक विस्तार आयोजनाले भक्तपुरको निकोसेरादेखि सल्लाघारीतर्फ अगाडि झण्डै १७५ मिटर सडकमा कङ्क्रिट ढलान गर्ने भएको छ। वर्षामा पानी जम्ने सो सडकमा कालोपत्र नटिक्ने भएकाले ढलान नै गरिने आयोजनाले जनाएको छ।
चार वर्ष पहिले विस्तार सुरु भएको सो सडकमा पुरानै ठेक्काबाट ढलान गरिने आयोजनाका इञ्जिनीयर वसन्तकुमार गाइँले जानकारी गराएका छन। उनका अनुसार आयोजनाले हाल विभाग हुँदै मन्त्रालयमा फाइल पठाउन लागेको छ। अबको १०/१५ दिनसम्ममा निर्माण सुरु हुनसक्ने उनको भनाइ रहेको छ। सो क्षेत्रमा पहिले पहिले पनि वर्षाको पानीका कारण सडकमा खाल्डो बन्ने गरेको थियो। हाल कालोपत्र गर्दा पनि चाँडै उप्कने र लगानी खेर जाने हुँदा ढलान गर्न लागिएको इञ्जिनीयर गाइँले जनाएका छन।
कालोपत्र सडकमा पानीको निकास राम्रो नहुँदा सडकमा चाँडै खाल्डाखुल्डी पर्ने गरेको हो। त्यस्तै ढलानमा कालोपत्रमा भन्दा बढी लगानी चाहिने भए पनि बढी समयसम्म टिक्ने र पानीले असर नगर्ने जनाइएको छ। हाल सो क्षेत्रमा ढलानका लागि स्थानीयवासी र पालिका दुबैले माग गरिरहेका हुनाले सबैको मागकै आधारमा प्रक्रिया अघि बढाइएको उनको भनाइ छ।
उपत्यका विस्तारका क्रममा रहेका अरु सडकजस्तै यो सडक पनि स्थानीयवासीले सङ्गठित रूपमा मुआब्जाको माग गरिरहेकाले लामो समयसम्म निर्माण अवरुद्ध बनेको थियो। ४.५ किमी लम्बाइको सो सडकको ठेक्का सम्झौता २०७४ साल असारमा भएको थियो। निर्माणस्थल खाली गराउन नसकिएकाले निर्माण अवधि पटक पटक थप भइरहेको छ। पछिल्लो समयमा भने उपलब्ध चौडाइमा नै कालोपत्र भइरहेको छ। उपलब्ध चौडाइमा निर्माण गर्दा अधिकांश स्थानमा मापदण्डभन्दा आधा वा त्योभन्दा कम चौडाइमा निर्माण अघि बढाइएको छ।
सो सडक निर्माणको ठेक्का कान्छाराम पीआर उमा कम्पनी एण्ड जेभीले लिएको थियो। काठमाडौं उपत्यकामा सो आयोजनाले ११ वटा सडक विस्तारको काम सुरु गरेको थियो। ती मध्ये हालसम्म चावहिल–साँघु र त्रिपुरेश्वर–कलङ्की–नागढुङ्गा गरी दुई सडक मात्रै सम्पन्न भएका छन्। अधिकांशमा मुआब्जा बिबादका कारण समयमा सम्पन्न हुनसकेको छैनन।