रामेछाप। रामेछापको खाँडादेवी गाउँपालिका–५ को वडा कार्यालय भवन निर्माणको स्थानका विषयमा विवाद बढेको छ। भवन निर्माणको स्थानका विषयलाई लिएर वडाध्यक्ष मनोज पौडेलमाथि स्थानीयको एक समूहले आक्रमण समेत गरेका छन्।
गाउँ कार्यपालिकाबाट मोटरसाइकलमा घर फर्कंदै गर्दा बिहीबार पकरबासको सिकारी डाँडामा बाटो छेकी केही व्यक्तिले वडाध्यक्षमाथि आक्रमण गरेका हुन्। उनीहरुले आफूलाई लछारपछार गरी झोला खोसेको र मोटरसाइकल तोडफोड गरेको वडाध्यक्ष पौडेलले बताए।
वडाको आफ्नै जग्गा भएको ठाउँ पकरबासको ठाँटीमा भवन बनाउन सुरु गरेपछि फुल्पा क्षेत्रका बासिन्दाले सो स्थानमा भवन बनाउँदा अपायक पर्ने भन्दै विरोध जनाउँदै आएका थिए। सोही विषयमा आफूमाथि आक्रमण गरेको अध्यक्ष पौडेलको भनाइ छ।
यसअघि वडा कार्यालयले सोही स्थानमा आफ्नै कच्ची भवनबाट सेवा दिँदै आएको थियो। सोही ठाउँमा पक्की भवन बनाउन गाउँपालिकाले बजेट विनियोजन गरेको छ र भवन निर्माणको काम पनि सुरु गरिएको छ। सर्वदलीय बैठकले समेत त्यस ठाउँमा भवन बनाउने निर्णय गरी निर्माण सुरु भएपछि स्थानीयले विवाद सुरु गरेका थिए। उनीहरूले भवन निर्माणका लागि गरिएको ‘ले–आउट’ समेत भत्काइदिएका थिए।
वडाध्यक्षमाथि आक्रमण भएको भन्दै खाँडादेवी गाउँपालिकाले विज्ञप्ति जारी गरेर घटनाको निन्दा गरेको छ। गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले वडाध्यक्ष पौडेलमाथि आक्रमण गरी उनी चढेको सवारीसाधनसमेत तोडफोड गरेकोप्रति खेद प्रकट गरेका छन्। सो घटनामा संलग्नलाई पक्राउ गरी तत्काल कानुनी कारबाहीको प्रव्रिmया सुरु गर्न पनि गाउँपालिकाले माग गरेको छ। स्रोत गोरखापत्र