उदयपुर। राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी लोकमार्गको पूर्वीखण्डका खोलाखहरेमा पुल निर्माणमा ढिलाइ हुँदा सर्वसाधरणले सास्ती व्यहोर्नु परेको छ। आयोजनाको उदयपुर खण्डमा चार महिनाअघि कालोपत्रेको काम सकिए पनि एक दर्जन खोलाखहरेमा पुल नबन्दा सर्वसाधरणलाई समस्या भएको हो। साथै, बनेका पुलका वारी र पारी भू–भाग लामो समय बितिसक्दासमेत कालोपत्रे नहुँदा सवारीसाधन आवागमनमा समस्या भएको हो।
उक्त खोलामा पुल नबन्दा सामान्य वर्षा हुँदा पनि सवारीसाधन रोकिने गरेका छन्। यात्रुहरू जोखिम मोलेर यात्रा गर्न बाँध्य रहेका छन्। छोटो दूरीका कारण सडकको कालोपत्रेको काम सकिएसँगै यातायातका साधनको चाप बढे पनि खोलाखहरेले गर्दा सवारीसाधन रोकिने गरेका छन्। साथै बनेका पुल क्षेत्रमा पनि कालोपत्रे नगरी कच्ची सडक न राखिँदा सवारीसाधन सञ्चालमा कठिनाइ हुने गरेको छ। पुल क्षेत्रमा ठूलाठूला खाल्डाले गर्दा साना सवारीसाधन सञ्चालनमा कठिनाइ हुने गरेको बेल्टारका शम्भु पौडेल जानकारी गराएका छन्। कालोपत्रे नहुँदा खाल्डाखुल्डीले मोटरसाइकल हिँडाउनसमेत मुस्किल रहेको र साना गाडी सबै ठोकिने भएकाले बाँध्य भएर वैकल्पिक बाटो रोज्नु परेको उनले जानकारी गराएका छन।
यस लोकमार्गबाट काठमाडौं आवतजावत गर्दा पूर्वी क्षेत्रका यात्रुहरूलाई दुई घण्टाको फरक पर्ने भएकाले अधिकांशको रोजाइमा सो सडक परेको छ। पुल र कालोपत्रेको काम सकिँदा २० मिनेटमा पार गर्न सकिने गाईघाट–बेल्टार सडकखण्डमा असारी, झोरा, ज्योमिरे खोलामा पुल निर्माण नहुँदा बढी समय लाग्ने गरेको जनाएको छ। यस लोकमार्गअन्तर्गत उदयपुर खण्डमा १२ खहरे खोलामा पुल निर्माण गर्न बाँकी रहेको छ। डिजाइन स्वीकृति गरी ३३ महिनाभित्रमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको आयोजना कार्यालय गाईघाटका इन्जिनियर शंकर पौडेलले बताएका छन।