काठमाडौं। निर्माण सुरु भएको सातवर्ष वितिसक्दा पनि काठमाडौंको पर्यटकीय क्षेत्र नगरकोटको सडक अझै अलपत्र अवस्थामा नै छ। हाल उकालो सडकमा जतासुकै छरिएको निर्माण सामग्रीले गर्दा पर्यटक र स्थानीयवासी सबैलाई आवतजावत गर्न समस्या भइरहेको छ। भक्तपुरको कमलविनायकदेखि नगरकोटसम्मको सडक आर्थिक वर्ष २०७०/७१ मा सुरु भएकामा अझै सम्पन्न हुन नकसकेको हो।

उक्त सडक धुलाम्मे हुँदा आवतजावत गर्न समस्या भएको कमलविनायक–नगरकोट सडक निर्माण दबाब समितिका संयोजकले जानकारी दिएका छन। निर्माण कम्पनीले समय–समयमा निर्माण सामग्री छरेजस्तो गरेपनि काम सकाउन नखोजेको उनको भनाइ छ। त्यस्तै मन्त्रालय वा विभागको भ्रमणमा निर्माण सामग्री र जनशक्ति बढाइने गरिए पनि अरु समयमा निर्माणको गति सुस्त रहेको छ। बेलाबेलामा अलिअलि काम गरेजस्तो गरेर जनताको आँखामा छारो हाल्ने बाहेक अरु केही काम नभएको उनले बताएका छन। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले आइतबार नगरकोट सडकको स्थलगत अनुगमन गरी सो सडक दुई महिनाभित्रमा सम्पन्न गर्न सम्बन्धीत पक्षलाई निर्देशन दिएकी छिन। साथै अझै पनि सडक निर्माणमा ढिलाइ भएमा अवधि थप नहुने उनको भनाइ रहेको थियो।
एकदुई महिनाभित्र निर्माण सम्पन्न गर्नका लागि आवश्यक जनशक्ति, उपकरण र निर्माणसामग्री पर्याप्त हुनुपर्ने भक्तपुर–नगरकोट सडक योजनाका प्रमुखले बताएका छन। चिसो सुरु भइसकेकाले मौसम अनुकूल हुँदा र निर्माण कम्पनीले व्यवस्थापन राम्रो गर्दा मात्रै काम गर्न सकिने उनको भनाइ ।हेको छ। सो योजनाले केही दिन पहिले मात्रै निर्माण कम्पनीसँग कार्ययोजना माग गरेको थियो। निर्माण कम्पनीले एक महिनामा सम्पन्न गर्ने गरी कार्ययोजना मन्त्रालय, विभाग र योजनालाई दिएको छ। सडक निर्माण लामो समयसम्म नसकिएको र जनगुनासो आइरहेकै कारण आफू एकडेढ महिनादेखि नियमित रूपमा निर्माणस्थलमा आइरहेको प्रमुखले जानकारी गराएका छन। हाल सडक निर्माणमा आवश्यक पने केही उपकरण थपेको र कम्पनीले निर्माण सामग्री नियमित आउन थालेपछि काम गर्ने बताएको उनले जानकारी दिएका छन।
नगरकोटका माथिल्लो भागमा चिसो समयमा काम गर्न नसकिने साथै तेलकोट–नगरकोटखण्डमा पनि तल्लो भागभन्दा तापक्रम कम हुने भएकाले आगामी महिनामा काम गर्न नसकिने हुनसक्ने प्रमुख ले जनाए। तापक्रम कम हुँदा कालोपत्र गर्दा गुणस्तर कम हुने भएकाले ‘तापक्रम पुग्यो भने मात्रै यो महिनामा काम गर्न सकिने उनले जानकारी गराएका छन। हालसम्म निर्माणमा ढिलाइ हुनुको सबैभन्दा प्रमुख कारण निर्माण कम्पनीको ढिलासुस्ती नै रहेको छ। अहिले सबैतिर निर्माणस्थल खाली भएकाले अरु समस्या नभएकोउनको भनाइ छ। योजनाले कतै निर्माणस्थलका कारणले समस्या आएमा तत्काल समाधान गरिने निर्माण कम्पनीलाई भन्दै आएको छ। जिल्ला प्रशासन कार्यालय, भक्तपुर र चाँगुनारायण नगरपालिकाले पनि निर्माणमा आवश्यक सहयोग गरेको छ। निर्माण कम्पनीलाई कार्यालयका कारणले ढिला नहुने भनी विश्वास दिलाइएको उनले जानकारी दिएका छन्।
कमलविनायकको भत्केको पाटीबाट नगरकोटसम्म १५.७ किमी रहेको छ। माथिल्लो भागमा झण्डै ४ किमी सडक कालोपत्र गर्न बाँकी नै छ। त्यस्तै ९ किमीमा एक तहको कालोपत्र सकिएर अर्का तहको कालोपत्र गर्न बाँकी रहेको छ। २.७५ किमी सडकमा दुई तहको कालोपत्र गर्नुपर्नेमा एक तह सकिएर अर्को तह गर्न बाँकी छ। हाल एक तह कालोपत्र भइसकेर पनि पटकपटक समस्या आइरहेकाले त्यहाँ मर्मत भइरहेको छ। अहिले सडकको चौडाइ दुई लेन हुने गरी कालोपत्र भइरहेको छ। सो सडकको छेउछेउमा पानी जानका लागि ड्रेन बनाइएको भएपनि हालसम्म सडकमा पैदलयात्रुमार्ग भने निर्माण भएको छैन।