काठमाडौं। थानकोट–चन्द्रागिरि भन्ज्याङ पदमार्ग निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। पालिकाको वडा नम्बर ४ को पानीघाटबाट शुरु भएर चन्द्रागिरी भन्ज्याङ सम्म पुग्ने पदमार्ग निर्माण कार्य सम्पन्न हुने चरणमा पुगेको हो।
यस पदमार्ग अन्तर्गत सिढी, विश्रामस्थल, पुल, रेलिंग लगायत पूर्वाधारहरु निर्माण गरिएका छन्।
करिब ३ किलोमिटरको उक्त पदमार्गमा आगामी आर्थिक वर्षमा सूचना पाटी लगायत अन्य आवश्यक पूर्वाधारको निर्माण हुने नगरपालिकाले जनाएको छ।
पदमार्ग निर्माण टेण्डर मार्फत करिब २ करोड लगानीमा निर्माण भएको हो। नगरपालिकाले प्रत्येक वर्ष माग गरेर प्राप्त गर्ने नगरपालिका प्रदेश समपुरक बजेटबाट उक्त निर्माण कार्य भएको हो । जस अन्तर्गत नगरपालिका र प्रदेश सरकारको ५०–५० लागत सहभागिता रहेको छ।
चन्द्रागिरि नगरपालिकाको आन्तरिक तथा वाह्य पर्यटन प्रवर्धनमा यस पदमार्ग कोसेढुङ्गा साबित हुने छ। निकट भविष्यमा अन्य केहि स्थानमा पनि पदमार्ग र साइकल ट्रेलको निर्माण गर्ने समेत नगरपालिकाले जनाएको छ।