काठमाडौं। विगत साढे दुई दशकदेखि सञ्चालनमा रहेको जुम्ला विमानस्थल विस्तार हुने भएको छ । कर्णाली प्रदेशकै सबैभन्दा व्यस्त जुम्ला विमानस्थल विस्तार हुने भएको हो । वर्षौंदेखि विमानस्थल विस्तारको नारा लाग्दै आए पनि डिपिआरसमेत अलपत्र अवस्थामा छ । करिब तीन वर्ष पहिले नागरिक उड्डयन प्राधिकरण तथा बुद्ध एयरले जुम्ला विमानस्थल स्तरोन्नति गर्न डिपिआर गरेको थियो ।
अहिलेसम्म डिपिआरअनुसार नत काम अघि बढ्यो नत प्राधिकरणले नै ध्यान दियो । यद्यपि विमानस्थल विस्तारको विषय जुम्लाबाट संघ प्रदेशमा प्रतिनिधित्व गर्ने २०६४ देखि यताका हरेक सांसद र दलको चुनावी एजेण्डा बन्दै आएको छ । डेढ दशकदेखि विमानस्थल विस्तारको नारा लाग्दै आए पनि बल्ल सरकारले कर्णालीको गुहार सुनेको छ । भरपर्दो सडक यातायात नभएको कर्णालीमा हवाई सेवा पनि आम नागरिकको पहुँच छैन ।
हवाई सेवा सहज बनाउन विमानस्थल विस्तार हुनुपर्ने र ठूला जहाज ल्याउनु पर्ने जुम्ली नागरिकको माग वर्षौंदेखि हो । तर सरकारले ढिलै भए पनि जुम्ला विमानस्थल विस्तार गर्न आवश्यक जग्गा प्राप्तिका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले जुम्ला विमानस्थलको धावनमार्ग विस्तार र टर्मिनल भवन निर्माणका लागि आवश्यक पर्ने १८३.८० रोपनी जग्गा अधिग्रहण गर्नका लागि प्राधिकरणलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।
२०५५ साल पुसबाट सञ्चानमा आएको जुम्ला विमानस्थलको धावनमार्ग हाल ६७० मिटर लामो २० मिटर चौडाइ छ भने १८ सिटे जहाजले उडान भरिरहेका छन् । जुम्ला विमानस्थलका प्रमुख सन्तोष अधिकारी भन्छन्, “एयरपोर्ट विस्तारका लागि जग्गा प्राप्ति गर्ने सरकारले निर्णय गर्नु स्वागतयोग्य छ । तर कार्यान्वयनमा चुनौती । मुआब्जा दिने नदिने, दिएपछि कति दिने? कति बजेट लाग्नेलगायतका विषयमा समितिमै मुआब्जाको तयारी हुनुपर्छ ।”
करिब साढे तीन वर्ष पहिला भएको डिपिआरअनुसार ६७० मिटर लामो धावनमार्गको पूर्वतर्फ थप २९० मिटर र पश्चिमतर्फ ८५ मिटर रन्वे विस्तार गर्नुपर्ने उल्लेख छ । करिब एक किलोमिटर लामो धावनमार्ग भए जुम्ला विमानस्थलमा ४२ सिटे जहाज अवतरण गर्न सकिने अधिकारीले जानकारी दिए । कारोबार दैनिकबाट