काठमाडौं। विराटनगर महानगरपालिकाअन्तर्गत कोशी लोकमार्गदेखि पश्चिमको क्षेत्र विकास निर्माण कार्य सुस्त भएसँगै स्थानीयले आन्दोलन सुरु गरेका छन्। विराटनगर महानगरपालिकाको वडा ४ र ५ जामुनगाछीका स्थानीयले लोकमार्ग पश्चिमको क्षेत्रमा विकास गतिविधि ढिलो भएको जानकारी गराउँदै उनिहरुले सामाजिक सञ्जालमार्फत अभियान सुरु गरेका हुन्।
मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा पर्ने उक्त स्थानमा कांग्रेसका नेता डा. शेखर कोइरालालाई हराउँदै एमाले नेता लालबाबु पण्डित निर्वाचित भएका थिए। त्यसैगरी एमाले महानगर कमिटी अध्यक्ष सागर थापासमेत सोही क्षेत्रका बासिन्दा हुन्। तर पनि राजनीतिक दलका नेताहरुले समेत आफ्नो क्षेत्रमा हुने विकास निर्माणमा ध्यान नदिएको भन्दै स्थानीय आक्रोशित भएका छन्।
त्यसैगरी त्यहीको एक स्थानीयले विकास निर्माणदेखि सबै कुरामा लोकमार्ग पश्चिमलाई भेदभाव गरिएको गुनासो गरेका छन्। जनता चुप लागेर बस्दा त्यसको फाइदा नेताहरुले उठाइरहेको भन्दै उनले बदमासी गर्ने नेताहरुलाई सजाय दिन जनता जाग्नुपर्ने बताएका छन्। अर्का स्थानीयले विकास निर्माणलाई संविधानले सहज बनाए पनि नेता नै बाँधक बनिरहेको आरोप लगाएका छन्। लोकमार्ग पश्चिमको क्षेत्रमा महानगरपालिकाको मापदण्डअनुरुप विकासको काम हुन नसक्दा जनता पीडित बनिरहनुपरेको उनको भनाइ रहेको छ।
विराटनगर ४ र ५ को गणेश चोकबाट पश्चिम केसलिया खोलासम्मको करिब ३ किलोमिटर सडक मर्मतसम्भारकै अवस्थामा रहेको छ। सडकको स्तरोन्नतिको काम लामो समयदेखि भए पनि पुरा नगरिएको स्थानीयको गुनासो रहेको छ। सो क्षेत्रको सडकमा ठूल्ठूला खाल्डाखुल्डी हुँदा पटक–पटक दुर्घटना हुँदै आएको छ।
अहिले त्यहाँका स्थानीयहरु विभिन्न १९ वटा सरकारी निकायलाई २३ बुँदे माग राखेर आन्दोलनमा उत्रिएका छन्। पूरा हुन नसकेको सडक निर्माणलाई जोडेर संविधानले व्यवस्था गरेको मौलिक हकको ग्यारेन्टी गरिनुपर्ने, युवाहरुलाई रोजगारीको व्यवस्था हुनुपर्ने, संसदमा जनताको समस्या समाधान हुने प्रकृतिका कानुन निर्माण गरिनुपर्ने, विकास निर्माणलाई प्राथमिकताका साथ मापदण्डअनुरुप अगाडि बढाउनुपर्ने र जनप्रतिनिधि जवाफदेही बन्नुपर्नेलगायतका उनीहरुले माग राखेका छन्।