काठमाडौं। राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्ड स्तरोन्नति तथा कालोपत्र गर्न ढिलासुस्ती गरेको भन्दै स्थानीय युवाले विरोध गरेका छन्। काठेखोला गाउँपालिका वडा नं ५ र ६ बिहुँका युवाले कालो झण्डा र हातमा कालोपट्टी बाँधेर विरोध गरेका हुन्। सडकमा निस्किएका युवाले जनतालाई सास्ती दिने काम भएको भन्दै सांकेतिक विरोध गरेका हुन्। दुई खण्डमा काम भइरहेको सो सडकको बिहुँ खण्ड तत्काल कालोपत्र गर्नुपर्ने युवाको माग रहेको छ।
निर्माण कम्पनीको लापरबाहीका कारण ठेक्का सम्झौता भएको वर्षौं बितिसक्दासमेत कालोपत्रको काम रोकिएको स्थानीय युवा दिवस कँडेलले जानकारी गराएका छन्। सडक विभाग जिम्मेवार हुनुपर्ने, काम नगर्ने ठेकेदार कम्पनीको लाइसेन्स खारेज गर्नुपर्ने, काम तत्काल थाल्नुपर्नेलगायत माग राख्दै युवाले दबाब दिन सुरु गरेको उनले जानकारी दिएका छन्। बिहुँको अक्षेतेदेखि इनारपानीसम्म काम गर्ने कम्पनी लामो समयदेखि सम्पर्कविहीन रहेकाले विरोध अभियान सुरु गर्नुपरेको उनको भनाइ रहेको छ।
स्तरोन्नतिसहित कालोपत्र थालिएको सडकका कारण स्थानीयले हिउँदमा धुलो र वर्षायाममा हिलोको सास्ती खेप्दै आएका छन्। त्यसैगरी विसं २०७२/७३ मा सुरु भएको बिहुँ खण्ड र ०७३/७४ मा सुरु भएको बागलुङ अक्षेतेखण्ड तीन वर्षमा सकिनुपर्ने थियो। तर ६ वर्ष समय बितिसक्दासमेत म्याद थप्नेबाहेक काम नभएको भन्दै स्थानीयले बेला–बेलामा विरोध गर्ने गरेका छन्। बागलुङ अक्षेते खण्ड स्तरोन्नति र कालोपत्रको जिम्मेवारी पाएको भारत सिद्धिसाही जेभीले १२ दशमलव ५ किलोमिटर र बिहुँ घोडाबाँधे खण्डको जिम्मेवारी पाएको सूर्य कन्स्ट्रक्सनले काम नगरेको स्थानीयको आरोप रहेको छ।
सो लोकमार्ग स्तरोन्तीको लागि चैतसम्म म्याद थप भएको छ। बेला–बेलामा आउने गरेका निर्माण कम्पनीका प्रतिनिधिले थपिएको समयमा काम सक्ने प्रतिबद्धता जनाउने गरेको भए पनि म्याद थप भएपछि बेखबर हुने गरेका छन्। राष्ट्रिय गौरवको आयोजना भएकाले सङ्घ, प्रदेश र स्थानीय सरकारको खबरदारी निरन्तर हुनुपर्ने स्थानीयको माग छ।