मोरङ।मोरङको कानेपोखरी–४ मा निर्माणाधीन कानेपोखरी अस्पतालको निर्माण कार्य रोकिएको छ । अस्पताल भवन निर्माणका लागि डिपीआर गरेको जग्गा व्यक्तिको नाममा भएको देखिएपछि काम रोकिएको हो।
गाउँपालिकाले २०७७ सालमा अस्पतालको डिपीआर गर्न जाल्पादेवी ग्रुपलाई दिएको थियो । १५ शैयाको अस्पताल निर्माण गर्न मूल्य अभिवृद्धि कर सहित १५ लाख ८१ हजार ६९ रुपियाँ लागत अनुमान गरी बोलपत्र आह्वान गरिएको थियो । जाल्पादेवी ग्रुपले १५ लाख ५४ हजार ६४५ रुपियाँमा डिपीआरको जिम्मा पाएको थियो।
डिपीआर गरिएको क्षेत्रफल १७ सय वर्गमिटर भनिएको छ । जसमध्ये २४१ वर्गमिटर जमीन अस्पतालको स्वामित्व भन्दा बाहिरको देखिएपछि अस्पताल निर्माण कार्य रोकिएको हो । अस्पताल निर्माणको ठेक्का आठ करोड ५० लाख रुपियाँमा काठमाडौंको प्रतिष्ठा के एन केडी जेभिले पाएको थियो ।