हुम्ला। हुम्लाको खार्पुनाथ शिवालयको भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ। धार्मिक, पर्यटकीय तथा ऐतिहासिक महत्व बोकेको खार्पुनाथ शिवालयलाई आकर्षक बनाउन निर्माण भइरहेका संरचनाको काम पूरा हुन लागेको हो।
कर्णाली र दोजाम कर्णालीको दोभानमा रहेको यस परम्परागत मन्दिरलाई आकर्षक बनाउन एक वर्षदेखि विभिन्न संरचना निर्माण भइरहेको छ।
महाभारतकालीन समयसँग जोडिएको शिवालयको दुवैतिर प्रवेशद्वार निर्माण सम्पन्न भइसकेको छ। यस क्षेत्रमा तातोपानीको मुहान पनि रहेको छ । मन्दिरको प्रवेशद्वारमा ढुङ्गामा कुँदिएको साँढे निर्माण गरिएको छ । भक्तालुहरूका लागि दुई वटा धर्मशालासमेत निर्माण गरिएको छ ।
कर्णाली प्रदेश सरकारको पर्यटन मन्त्रालयको आर्थिक सहयोगमा शिवालयको संरचना निर्माण हुँदै आएको छ । धार्मिक महत्व झल्काउन र पर्यटन प्रवर्धन गर्न संरचना निर्माण गरेको बताइएको छ।