म्याग्दी। म्याग्दीको बेनी नगरपालिकामा कोल्ड स्टोर निर्माण गर्न सुरु गरिएको छ। बेनी नगरपालिकाले एक करोड ५० लाख भन्दा बढीको लागतमा कोल्ड स्टोर निर्माण गर्न थालेको हो।
कोल्ड स्टोर निर्माणका लागि नगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० मा एक करोड ९० लाख रुपियाँ बजेट विनियोजन गरेको थियो। एक करोड ८३ लाख लागत अनुमान गरिएको निर्माण कार्यको लागि गत फागुनमा निर्माण सेवा जाजरकोटसँग एक करोड ५१ लाख २० हजारमा निर्माण सम्झौता भएको छ।
आगामी असार मसान्तसम्म सम्झौताको म्याद रहेको उक्त योजनाको निर्माण कम्पनीले बेनी नगरपालिका–४, सिङ्गाको राजिकुलोमा जग्गा व्यवस्थापन गरेर पर्खाल निर्माणको काम सुरु गरेको छ। तीन सय मेट्रिक्टन क्षमताको कोल्ड स्टोर तापक्रमलाई सन्तुलित बनाइराख्ने उपकरण र संरचनासहित निर्माण हुन लागेको छ।
कृषि उपज सङ्कलन, भण्डारण र व्यवस्थापनका लागि शीत भण्डार निर्माण गर्न लागिएको हो। नगरपालिका र म्याग्दीका अन्य गाउँपालिकामा उत्पादन हुने कृषिजन्य उत्पादनको उचित व्यवस्थापनमा कोल्ड स्टोर कोसेढुङ्गा साबित हुने अपेक्षा गरिएको छ।