काठमाडौं। नेपाल सरकारले विश्व बैंकसँगको सहकार्यमा ग्रामीण उद्योग र आर्थिक विकासको कार्यक्रम अगाडी सारेको छ। विश्व बैंकसँगको सहकार्यमा सरकारले ग्रामीण अर्थतन्त्र विकास गर्न ८० मिलियन डलरको आयोजना सुरु गरेको हो।
हिजो कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्राराय यादव र विश्व बैंकका नेपाल, माल्दिभ्स र श्रीलंका कन्ट्री निर्देशक फरिस हदाद जेरभसले संयुक्तरुपमा आयोजनाको शुभारम्भको घोषणा गरेका हुन्। यो आयोजनाले नेपालका ग्रामीण कृषिलाई उकास्ने र ग्रामीण बजार विकासलाई सहयोग पुग्ने अपेक्षा राखिएको छ। कोरोना महामारीले बेरोजगार बनेकालाई यस आयोजनाले कृषिको विकासमार्फत रोजगारी दिने र ग्रामिण आर्थिक विकास हुने समेत जनाइएको छ। मन्त्री यादवले कोरोना महामारीले धर्मराएको ग्रामीण बजार र कृषि उत्पादनलाई यस आयोजनाले उकास्ने र रोजगारी सृजना गर्ने बताएका छन्। साथै यस आयोजनाले साना तथा मझौला किसानको कृषिजन्य उत्पादन र रोजगारी सृजना हुने उनको भनाइ छ।
यस आयोजना प्रदेश १ र २, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सञ्चालन हुने भएको छ। यसले सरकारले लिएको कृषि रणनीति २०१५–२०३५ लाई समेत सहयोग पुग्ने विश्व बैंकले जानकारी गराएको छ। त्यसैगरी विश्व बैंकका कन्ट्री डाइरेक्टर जेरभसले आयोजनाले ग्रामीण क्षेत्रमा कृषिले रोजगारीका अवसर सृजना गर्ने बताउँदै विशेषगरी यस आयोजनाले कफीखेती, चिया खेती र फलफुल तथा जडिबुटी खेतीमा प्रोत्साहन पुग्ने अपेक्षा राखिएको जानकारी गराएका छन्।