दसैं नजिकिँदै गर्दा नयाँ नोट साट्न बैंकमा लाग्ने लामो लाइनको झन्झट कम हुने भएको छ। अब केही एटिएमबाटै १०० रुपैयाँ दरका नोट निकाल्न सकिने व्यवस्था गर्न लागिएको छ। नेपाल राष्ट्र बैंककी सहायक प्रवक्ता सुधा श्रेष्ठका अनुसार बैंक तथा वित्तीय संस्थाको मागअनुसार यस्तो व्यवस्था गर्न लागिएको हो।
हाल अधिकांश एटिएमबाट ५०० र १ हजार रुपैयाँका नोट मात्रै निकाल्न मिल्छ। तर, दसैंमा सुकिला नोटको माग बढ्ने भएकाले साना दरका नोट पनि एटिएमबाटै निकाल्न सकिने व्यवस्था गर्न लागिएको हो।
यद्यपि, यो सुविधा सबै एटिएममा भने उपलब्ध हुने छैन। परम्परागत प्रविधिका एटिएममा दुई दरका नोट मात्रै राख्न मिल्ने भएकाले सीमित एटिएमबाट मात्रै १०० रुपैयाँका नोट निकाल्न सकिनेछ।