काठमाडौं । नेपाल निर्माण व्यवसायी महासङ्घले इन्धन र निर्माण सामग्रीमा भएको अप्रत्याशित मूल्यवृद्धिका कारण विकास निर्माणका काम अगाडि बढाउन नसकिने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।
महासङ्घले मध्यपूर्वमा जारी युद्धका कारण इन्धन र बिटुमिन लगायतका अत्यावश्यक सामग्रीको मूल्यमा अत्यधिक वृद्धि भएको र बजारमा चरम अभाव देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले हालै जारी गरेको निर्माण कार्यको प्रगति र आयोजना सञ्चालन सम्बन्धी निर्देशनका कतिपय बुँदाहरू व्यवहारिक नभएको भन्दै महासङ्घका महासचिव शिवहरि घिमिरेले मन्त्रालयका सचिवलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
असहज परिस्थितिमा हालको महँगी अनुसार काम गर्न नसकिने भएकाले सरकारले साविककै मूल्यमा सामग्री उपलब्ध गराउनुपर्ने वा सार्वजनिक खरिद ऐन बमोजिम अनिवार्य मूल्य समायोजन गरिनुपर्ने महासङ्घको माग छ ।
मूल्यवृद्धिका कारण काम ठप्प भएको अवस्थालाई ‘काबु बाहिरको परिस्थिति’ मानी आयोजनाहरूको एकमुष्ट म्याद थप गर्नुपर्ने विषयलाई महासङ्घले प्राथमिकताका साथ उठाएको छ ।
त्यस्तै, मूल्य समायोजन गर्दा अपनाइने ‘इन्डेक्स फ्रिज’ गर्ने कार्य कानुन सम्मत नभएकाले त्यसलाई तत्काल हटाउन र सबै प्रकारका आयोजनामा मूल्य समायोजन प्रदान गर्न महासङ्घले माग गरेको छ ।
यदि सरकारले हालको मूल्यवृद्धिको समस्यालाई सम्बोधन गर्न सक्दैन भने निश्चित समयका लागि निर्माण कार्य रोकिने गरी ‘निर्माण कार्यको विश्राम अवधि’ (कन्ट्रक्सन कुलिङ पिरियड) घोषणा गर्नुपर्ने चेतावनी समेत महासङ्घले दिएको छ ।