गोरखा। गोरखाको गोरखा नगरपालिका–१४ स्थित गोप्लिङमा रहेको अकला मन्दिर पुनःनिर्माणको काम अलपत्र परेको छ। भूकम्पले क्षति पुर्याएको गोरखाको ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्व बोकेको प्रसिद्ध अकला मन्दिर पुनःनिर्माणको काम अलपत्र परेको हो।
२०७८ असोजभित्रै निर्माण सम्पन्न गर्नुपर्ने २४ लाख १० हजारमा गोर्बुङ राना निर्माण सेवासँग ठेक्का सम्झौता भएको मन्दिरको काम अझै अलपत्र अवस्थामा रहेको हो।
निर्माण कम्पनीको लापर्बाहीका कारण मन्दिर पुनःनिर्माणको काम अलपत्र पारेपछि नगरपालिकाले पटक–पटक म्याद थप गर्दा समेत पुनःनिर्माणको काम सम्पन्न हुन नसकेको नगरपालिकाले जनाएको छ ।
दैनिक सयौँ भक्तजन पूजाआजाका लागि पुग्ने गरेको अकला मन्दिर पुनःनिर्माणको काम नहुँदा अलपत्र अवस्थामा रहेकै मन्दिरमा भक्तजन पूजा गर्न बाध्य भएको स्थानीय बताउँछन्।
नगरपालिकाले मन्दिर निर्माणका लागि स्टेमेट डिजाइन गर्ने क्रममा काठको मूल्य नराखी डिजाइन गरेर ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता गरेकाले काठ कसले उपलब्ध गराउने भन्ने विवादका कारण निर्माणको काममा समस्या भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ।