बागलुङ। चार वर्षअघि निर्माण पूरा गर्नुपर्ने मध्यपहाडी लोकमार्गको काम अझै नसकिएपछि स्थानीय आन्दोलित भएका छन्। मध्यपहाडी लोकमार्ग निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले काम नगरेपछि स्थानीयले आइतबार दिनभर सडक अवरुद्ध गरेका हुन्।
स्थानीयले आइतबार काठेखोला गाउँपालिका वडा नं ५ र ६ को घोडाबाँधेदेखि अक्षेते तर्फको खण्डमा सवारी चल्न नदिएका हुन् । सडक समयमा नबनेको, हिउँदमा धुलो, वर्षात्मा हिलोको सास्ती खेप्नुपर्ने र स्थानीयले उक्त मार्गमा चल्ने सवारी चढ्न पनि गलकोट तर्फको भाडा तिर्नुपर्ने समस्याले बन्द गराएको आन्दोलितहरुको भनाइ छ।
दुवैतर्फ स्थानीयले सवारी चल्न नदिँदा लोकमार्गको यात्रा गरेका सयौं यात्रुहरु घोडाबाँधे र अक्षेतेमा अलपत्र परेका थिए ।
बागलुङ बजारदेखि अक्षेते हुँदै सुलडाँडासम्मको १२ किलोमिटर खण्ड सिद्धिसाइ भारत निर्माण कम्पनी र सुलडाँडादेखि घोडाबाँधे १३ किमि खण्ड सूर्य कन्स्ट्रक्सनले निर्माण जिम्मा लिएको छ।