कञ्चनपुर। कञ्चनपुरको कलुवापुर–बेलौरी सडकखण्डको काममा ढिलासुस्ती भएको भन्दौ स्थानीय आन्दोलित बनेका छन्। निर्माण व्यवसायीले सडक निर्माणको काममा ढिलासुस्ती गरेको भन्दै आज बिहानैदेखि स्थानीयले कलुवापुर सडक अवरुद्ध गरेर आन्दोलन गरेका हुन्।
कलुवापुर बजारका व्यवसायीसहितका स्थानीयले निर्माण व्यवसायीको लापरबाहीलाई पूर्वाधार विकास कार्यालयबाट ठेगानमा ल्याउन नसकेको भन्दै निर्माण व्यवसायी र कार्यालयको विरोध गरिरहेका छन् । कार्यालयले भने आफ्नो तर्फबाट ठेकेदारलाई निरन्तर ताकेता गरिएको जनाएको छ।
उक्त सडक कालोपत्रेका लागि सन्तोषी थेगिमले २० साउन ०७८ मा ठेक्का सम्झौता भई १९ साउन ०८० मा सम्पन्न गर्नुपर्नेमा काम पूरा हुने कुनै छाटकाट देखिएको छैन। तीन किलोमिटर सडक डबललेनसहित १० करोड ३५ लाख लागतमा निर्माणको ठेक्का दिइएको थियो। उक्त सडक कालोपत्रे गरेको निर्माण कम्पनीले डेढ वर्षदेखि ६५ लाख रुपैयाँ भुक्तानी लिन बाँकी छ।
यसअघि पनि कलुवापुर–बेलौरी सडकखण्ड कालोपत्रेको माग अघि सारेर कलुवापुर, बन्साह, कालागौडी, बेलौरी क्षेत्रमा पटकपटक आन्दोलन हुँदै आएको थियो। कालागौडी पुलदेखि चाँन्देवसम्म झन्डै पाँच किलोमिटर सडकखण्ड निकुञ्जले कालोपत्रे गर्न नदिएको निर्माण व्यवसायीको भनाइ छ।