काठमाडौं। चन्द्रागिरी नगरपालिकाका अधिकांश सार्वजनिक स्थलहरुमा नि:शुल्क वाइफाइ जडान गर्न सुरु गरिएको छ।
नगरपालिकाले कलंकी नागढुंगा पीपलामोड सडक खण्डको मुख्य मुख्य चोकहरुमा, नगरपालिकाको कार्यालयमा, वडा कार्यालयहरुमा तथा प्रत्येक वडाको मुख्य मुख्य चोक र सार्वजनिक स्थलहरुमा निशुल्क वाई फाई जडान भइरहेको जनाएको छ।
आगामी आर्थिक वर्षमा थप मुख्य सडकहरु र वडाका थप स्थानहरुमा पनि वाईफाई जडानको कार्यले निरन्तरता पाउने नगरप्रमुख घनश्याम गिरीले बताए।
नगरपालिकाले केही समयमानै संचालनमा ल्याउँदै गरेको जी पी एस र जी आइ एस प्रणालीको नगर प्रोफाइल सम्पूर्ण नगर र वडाबाट प्रदान गर्न लागिएको हो । अनलाइन सेवाको लागि पूर्वाधार स्वरूप यस नगरपालिकाले आ व ०७९/८० को नगर भरि निशुल्क वाई फाई जडान गर्न बजेट विनियोजन गरेकोमा टेन्डर प्रक्रिया मार्फत जडान कार्य भएको छ ।