काठमाडौं। कोशी राजमार्गको सडक विस्तारको काम अलपत्र पार्ने तीनवटा निर्माण कम्पनीसँग ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको छ।
पटक पटक तोकता गर्दा समेत काम अघि नबढाएपछि सडक डिभिजन तुम्लिङटारले तीनवटा निर्माण कम्पनीसँग ठेक्का तोड्न लागेको हो।
सडक डिभिजन तुम्लिङटारले आइतबार सूचना जारी गर्दै तीनवटै निर्माण कम्पनीसँग ठेक्का नतोड्ने कुनै ठोस कारण भए उक्त कारणसहित स्पष्टीकरण पेस गर्न १० दिनको समयसीमा तोकेको छ।
कान्छाराम–एनबी जेभी, बालकन्या देवी कटकबहादुर निर्माण सेवा र विनायक–चित्रेश्वर जेभीसँगको ठेक्का तोडिने भएको हो। यी निर्माण कम्पनीले कोशी राजमार्गमा पर्ने विभिन्न सडकहरुको विस्तार तथा मर्मतको काम अलपत्र पारेको आरोप छ।
सडक डिभिजन तुम्लिङटारले उनीहरुलाई पटक–पटक म्याद थप गरे पनि त्यसको बेवास्ता गर्दै लापरवाही गरेपछि ठेक्का तोड्न लागिएको जनाएको छ।