बागलुङ । सशस्त्र द्वन्द्वका बेला खोलिएको सडकको ट्र्याक बल्ल कालोपत्र हुने भएको छ । माओवादीले श्रम शिविरमार्फत खोलेको काठेखोला–५ को रिजालचोकदेखि ताराखोला गाउँपालिका केन्द्रको अर्गलसम्मको २० किमि सडक यसै वर्ष कालोपत्र हुन लागेको हो ।
द्वन्द्वकालमा श्रम शिविरमार्फत ताराखोलासम्मको ३५ किमि सडक खनिएको थियो । शिविरमा एक जनाले कम्तीमा ९० दिनसम्म श्रमदान गरेर ट्र्याक खुलाइएको हो । स्थानीय पालिका बनेपछि गाउँपालिकाले थप १० किमि ट्र्याक खोलेर म्याग्दीको रुम जोड्ने सडक बनाएको छ । चालु वर्ष ७० करोड खर्चेर कालोपत्र गरिने गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए ।
गण्डकी प्रदेश सरकारको स्थानीय पूर्वाधार विकास आयोजना कार्यालयले सडक कालोपत्र गर्न गाउँपालिकासँग सम्झौता गरिसकेको छ । उक्त बजेटले नपुग्ने भएपछि पालिकाले गण्डकी प्रदेशको अर्थ मन्त्रालयमा रकम माग गरेको छ ।