म्याग्दी। म्याग्दी जिल्लाको मङ्गला गाउँपालिका–५ पोकमा ‘लिफ्ट’ सिँचाइ आयोजना निर्माण गरिएको छ। म्याग्दी नदीको किनारबाट ९० मिलीलिटरको पाइपबाट पानी तानेर ६५ मिटरमाथि पोकफाँटको सिरानमा पुर्याइएको हो।
मङ्गला गाउँपालिकाको आर्थिक सहयोगमा म्याग्दी नदीको पानी तानेर पोकको फाँटमा लगेर सिँचाइ गर्न थालिएको छ ।
लिफ्ट सिँचाइ आयोजनाको सोमबार परीक्षण सफल भएको छ। म्याग्दीको मकै, गहुँ र धानबालीको भण्डार मानिने पोकमा लिफ्ट सिँचाइ आयोजनाबाट ६५ हेक्टर जमिनमा सिँचाइ गर्न सकिने बताइएको छ।
लिफ्ट सिँचाइ आयोजना निर्माणका लागि मङ्गला गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९/८० मा रु १० लाख बजेट विनियोजन गरेको थियो । पम्प, पाइप खरिद र नेपाल विद्युत् प्राधिकरणसँग समन्वय गरी नयाँ ट्रान्सफर्मर राखेर विद्युत्को व्यवस्था मिलाइएको छ । म्याग्दी नदी किनारमा आवश्यक परेको समयमा पाइप राखेर पानी तान्न मिल्ने संरचना बनाइएको थियो। आगामी वर्ष म्याग्दी नदीबाट तानेको पानी सङ्कलन गर्ने पोखरी बनाउने योजना रहेको गाउँपालिकाले जनाएको छ।