सुनसरी। धरानमा ४२ किलोमिटर टाढाको कोकाहा खोलाबाट पानी ल्याउन सफल भएको छ। धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई साम्पाङले अगाडि सारेको श्रमदान अभियानको सफलतासँगै धरानमा कोकाहा खोलाबाट पानी पुर्याइएको हो।
प्रमुख साम्पाङले प्रारम्भ गरेको श्रमदान अभियानको ९८ औँ दिनमा कोकाहा खोलाबाट पानी ल्याएर धरान–२० स्थित पकुवा खोलामा खसालिएको छ। योसँगै खानेपानीको चरम अभाव भोगिरहेका धरानबासीलाई केही राहत मिलेको छ।
मङ्गलबार बिहान अर्थात् गएको मध्यराति कोकाहाको पानी पकुवा खोलामा ‘वास आउट’ गर्न खसालिएको अभियानका प्रोजेक्ट मेनेजर दत्तकुमार लिम्बूले जानकारी दिए।
कोकाहा खोलाको मुहान क्षेत्रबाट प्रमुख साम्पाङको नेतृत्वको श्रमदान अभियानको टोलीले पाइपलाइन बिछ्याएर पानी ल्याएको हो। कोकाहाबाट धरानसम्म पाइपलाइन ल्याउने क्रममा छिमेकी नगरपालिका बराहक्षेत्रसँग समन्वय गरेर त्यस नगर क्षेत्रको भूभागसमेत हुँदै करिब ४२ किलोमिटर पाइपलाइन बिछ्याइएको छ।
कोकाहाबाट ल्याएर पानी खसाइएको पकुवा खोलासम्मको कठिन पहाडी क्षेत्र कटेर धरानको मानव बस्तीका लागि खानेपानी ल्याइएको धरान खानेपानी व्यवस्थापन बोर्डले जनाएको छ। पकुवा खोलामा ल्याइएको पानी ‘वास आउट’ गरेर त्यहाँदेखि करिब सात किलोमिटर दूरीमा रहेको सुम्निमा र स्वास्तिका ट्याङ्कीमा ल्याइने योजना रहेको बताइएको छ। यसका लागि श्रमदान अभियान अन्तर्गत नै पकुवादेखि सुम्निमा र स्वास्तिका ट्याङ्कीसम्म पाइपलाइन विस्तारको काम समेत भइसकेको छ।