गुल्मी। गुल्मीको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गामा जिपलाइन निर्माण गरिने भएको छ। साहसिक पर्यटनको सम्भाव्यता खोज्नेक्रममा यस क्षेत्रमा जिपलाइन निर्माण गर्न लागिएको हो ।
आन्तरिक तथा बाह्य पर्यटनको अत्यधिक सम्भावना भएको रेसुङ्गा क्षेत्रमा जिपलाइनलगायतका साहसिक पर्यटकीय पूर्वाधारले पर्यटक आगमनमा थप आशा जगाउने विश्वास लिएको रेसुङ्गा नगरपालिकाले जनाएको छ।
गुल्मीलगायत आसपासका क्षेत्रमा पर्यटन पूर्वाधारका कामहरू अगाडि बढेको तर साहसिक पर्यटनको क्षेत्रमा जिपलाइन लगायतका मनोरञ्जनका पूर्वाधार निर्माणले यस क्षेत्रको पर्यटनलाई बढवा दिनमा ठूलो मद्दत पुग्न नगरप्रमुख खिलध्वज पन्थीले बताए। यसलाई पीपीपी (पब्लिक प्राइभेट पार्टनरसीप) को अवधारणाअनुसार अगाडि बढाइने उनको भनाइ छ।
रेसुङ्गा नगरपालिकाका पूर्वाधार संयोजक एवम् “जाउँ हिँड रेसुङ्गा” अभियानका संयोजक रामप्रसाद पन्थी ‘रामजी’ ले सामान्य सम्भाव्यता अध्ययन भइसकेको र यसलाई विस्तृत डीपीआर तयार गरेर आगामी आर्थिक वर्षमा सम्पन्न गर्नेगरी अगाडि बढाइने बताए।गाेरखापत्रबाट