हेटौंडा। विगत दुई महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले पुनः उत्पादन सुरु गरेको छ। बिग्रिएका उपकरण मर्मत गरी उद्योगले आज बिहानदेखि पुनः उत्पादन सुरु गरेको हो।
उद्योगले सिमेन्टका साथै सिमेन्ट बनाउन प्रयोग हुने ‘क्लिङ्कर’को उत्पादन पनि सुरु गरेको छ ।
क्लिङ्कर उत्पादनका लागि चाहिने आगो बाल्ने भट्टीमा विभिन्न उपकरण बिग्रिनुका साथै कोइलाको अभाव भएकाले सिमेन्ट उत्पादन बन्द भएको थियो।
उद्योगले बोलपत्र आह्वान गरेर भारत, इन्डोनसिया र भुटानबाट गुणस्तरीय कोइलाको आपूर्ति गरेको छ। प्रथम र दोस्रो चरणमा गरी एक हजार आठ सय मेट्रिक टन कोइला आइसकेकाले आजैबाट उत्पादन सुरु गरिएको हो। बाँकी एक हजार दुई सय मेट्रिक टन कोइला यही असार मसान्तभित्र आपूर्ति हुनेछ ।