काठमाडौं। सुर्खेत विमानस्थल २५ दिनका लागि बन्द हुने भएको छ। विमानस्थलको धावनमार्ग ओभरले गर्न लागिएकाले सो अवधिभर नियमित उडान बन्द हुने नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर मुराहरी भण्डारीले जानकारी दिएका छन्।
उनका अनुसार मंसिर १० देखि पुस ५ गतेसम्म नियमित उडान बन्द गरिने भएको छ। यो नियमित प्रक्रिया भएको र समय समयमा सुर्खेत मात्र नभइ आन्तरिकतर्फका विभिन्न विमानस्थलको नियमित मर्मत सम्भार गर्दै आएका उनले बताएका छन्। ओभर–लेको काम २५ दिनभित्र सकाउने योजना रहेको छ।
वि.सं. २०२३ सालमा स्थापना भएको सो विमानस्थलको धावनमार्गको लम्बाई १२ सय ५५ मिटर रहेको छ भने चौडाइ ३० मिटर रहेको छ। यस विमानस्थलमा एटीआर–४२ सिरिजको जहाजले उडान–अवतरण गर्दै आएको छ। यसैगरी यस विमानस्थलमा निजी वायुसेवा कम्पनी बुद्ध एयरले नियमित उडान गर्दै आएको छ। यात्रु सेवा सहजतालाई मध्यनजर गर्दै बुद्धले नेपालगञ्ज–वीरेन्द्रनगरका लागि थप एउटा उडानसहित दैनिक ६ उडान गर्ने जानकारी दिएको छ।