रुकुम पूर्व। गुणस्तरहीन काम भएपछि विद्यालय भवनको निर्माण कार्य रोकिएको छ। रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–१३ मा निर्माणाधीन आधारभूत विद्यालय पदमीको भवनको काम रोकिएको हो ।
गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढाको नेतृत्वमा गएको टोलीले प्राविधिक मूल्याङ्कनअनुसार काम नभएको पाएपछि काम रोक्न निर्देशन दिएको हो ।
सिमेन्ट, बालुवा र गिट्टीको मात्रा नमिलेको, गिट्टी र बालुवाको गुणस्तर कम भएको, मूल्याङ्कनअनुसारको सरियाको प्रयोग नभएको पाएपछि काम रोकिएको उपाध्यक्ष भुपेन्द्र बुढाले जानकारी दिए।भवन निर्माणको काममा विद्युत् लाइनको पाइप नराखेको, भिजेको सिमेन्टको प्रयोग भएको लगायतका समस्या समेत रहेको बताइएको छ।
अनुगमन कार्यक्रममा गाउँपालिकाका इन्जिनियर इन्द्रजित गामी, गाउँपालिकाका योजना शाखा प्रमुख ओमप्रकाश ओलीलगायतको उपस्थिति रहेको थियो ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत २७ लाख ५० हजार रुपैयाँको बजेटमा भवन निर्माणका लागि गाउँपालिकासँग सम्झौता भएको छ ।