काठमाडौं। आगामी असारभित्र बुढीगण्डकी जलविद्युत् आयोजनाको शिलान्यास हुने भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धादिङको गजुरीमा आदर्श बहुमुखी क्याम्पसको सोमबार भवन उद्घाटनका क्रममा बोल्दै बुढीगण्डकी जलविद्युत आयोजना असार भित्र शिलान्यास हुने बताएका हुन्।
सांसद रामनाथ अधिकारीले प्रधानमन्त्रीले निर्वाचित भएपछि आफूहरूसँग यसै वर्ष बुढीगण्डकी परियोजना शिलान्यास हुने बताएको स्मरण गराउँदै ‘शिलान्यास कहिले हुन्छ ?’ भनेर प्रश्न गरेका थिए। सोही प्रश्नको जवाफमा प्रधानमन्त्रीले असारभित्रै हुने बताएका हुन्।
यस आयोजनाको निर्माण प्रक्रिया अगाडि बढाउने विषयमा पटक पटक प्रतिबद्धता जनाएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले आयोजनाको मोडालिटीका विषयमा सहमति भइसकेको र आवश्यक प्रक्रिया छिट्टै सुरु हुने जानकारी दिए ।
उनले आयोजनाको कार्यालय स्थापना र निर्माण प्रक्रियाको शिलान्यास असारभित्रै गरिने प्रतिबद्धता व्यक्त गर्दै भने, “हिजो मात्रै प्राधिकरणका कार्यकारी निर्देशकलाई एक हप्ताभित्र आयोजनाको कार्यालय स्थापना तथा शिलान्यासको व्यवस्था मिलाउन निर्देशन दिएको छु ।”
प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बुढीगण्डकी निर्माण महत्त्वपूर्ण रहेको बताए।
बुढी गण्डकी राष्ट्रिय गौरवको आयोजना भएको र आफू सोही जिल्ला गोरखाबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिको नाताले पनि बुढीगण्डकी बन्नेमा विश्वस्त हुन प्रधानमन्त्रीले आग्रह गरे ।