प्युठान । जिल्लाको मुख्य धार्मिक तथा पर्यटकीय स्थल स्वर्गद्वारी पुग्ने भिंग्री–स्वर्गद्वारी सडकको अवस्था नाजुक छ । भिंग्रीदेखि स्वर्गद्वारीसम्म १२ किलोमिटर खण्डमा आधा दर्जन बढी स्थानमा सडक भासिएको छ ।
उक्त सडक खण्डका अधिकांश स्थानको घुम्ती भासिएको छ । सडक भासिएका कारण गाडी घुम्तीमा मोड्न निकै गाह्रो हुने गरेको सवारी चालकहरु बताउँछन् । स्वर्गद्वारी दर्शनका लागि आउने भक्तजन भासिएको सडकबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
गएको असार–साउनमा धेरै पानी परेका कारण भिंग्री–स्वर्गद्वारी सडकको अधिकांश स्थान भासिएको हो । वर्षात् सकिए पनि अहिलेसम्म भासिएको सडक निर्माण गर्नेतर्फ कसैले चासो नदिएको स्थानीयको गुनासो छ ।