काठमाडौं। सुर्खेतको काक्रेविहार कर्णाली प्रदेशको राजाधानी सुर्खेतमा अवस्थित एक पुरातात्त्विक महत्व बोकेको महत्वपूर्ण पर्यटकीय स्थल हो। त्यहाँ दैनिक रूपमा सयौँको संख्यामा पर्यटकहरूको घुइँचो लाग्ने गरेको छ।

उक्त स्थलमा कोरोना संक्रमण दर ओरालो लागेसँगै दैनिक रूपमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ। काक्रेविहार अवलोकन गर्न जाँदा बाटोको अवस्था राम्रो नहुँदा त्यहाँ पुग्ने पर्यटकले सास्ती भोग्नु परेको छ। काक्रेबिहार भनेर सुन्दा उत्तिकै रहस्यमय ठाउँ र त्यहाँ पुग्न पनि बाटोको कारणले सास्ती खेप्नु परेको त्यहाँ पुग्ने पर्यटकहरूले बताएका छन्।
उक्त विहार प्रदेशको मुटुमा रहेको महत्वपूर्ण पर्यटकीय स्थलका रूपमा परिचित हुँदा पनि त्यहाँ पर्याप्त रूपमा पूर्वाधारको अभाव रहेको छ। मंगलगढी चोकदेखि काक्रेविहार पुग्दासम्म बाटो पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुँदा काक्रेविहार पुग्ने पर्यटक र स्थानीय बासिन्दाले सास्ती खेप्दै आएका छन्। तर, पनि सरकारले बाटोको स्तरोन्तीमा चासो दिएको देखिदैन्। प्रदेशकै महत्वपुर्ण पर्यटकीय स्थल भए पनि सरकारले गम्भीर रूपमा चासो नदिएको त्यहाँ पुग्ने पर्यटकहरूको गुनासो रहेको छ।
पर्यटकहरु मनोरञ्जनका लागि आउने हो तर, उल्टै धुलाम्मे सडकमा सेताम्मे भएर फर्किनु पर्ने बाँध्यता रहेको छ। प्रदेशको दैलोमा यस्तो महत्वपुर्ण पर्यटकीय स्थल जाने बाटोको यस्तो दूर्गति हुनु र पर्याप्त रूपमा पुर्वाधार नहुनु लाजमर्दो कुरा भएकाले प्रदेश सरकारले यसप्रति ध्यान दिन आवश्यक रहेको छ। काक्रेविहार प्रदेशकै महत्वपूर्ण पर्यटकीय पनि स्थल हो। यहाँ आन्तरिक तथा बाह्य पर्यटक भित्राउन काक्रेविहार भित्र पिउने पानी,केटाकेटीका लागि भुलिने ठाउँ लगायतका विभिन्न आर्कषक कुराहरू थप्नुपर्ने वीरेन्द्रनगर–९ का स्थनीयले जानकारी गराएका छन्।
काक्रेविहार सडक निर्माणका लागि पूर्वाधार विकास निर्देशनालय सुर्खेतका अनुसार मंगलगढीदेखि लाटिकोहिलीसम्म १६ करोडको टेन्डर भएर सम्झौताको क्रममा रहेको पूर्वाधार निर्देशनालय सुर्खेतले जनाएको छ। त्यसैगरी काक्रेविहार सडक निर्माणका लागि आशिस हाम्रो जेभी सुर्खेतसँग ठेक्का भएको र १३ करोडमा सम्झौता हुन सक्ने इन्जिनियर सूर्यबहादुर शाहीले बताएका छन्। आशिष हाम्रो जेभी सुर्खेतसँग ठेक्का भएको र नालासहितको २२ सय मिटर सडक कालोपत्रे गर्नुपर्ने उनको भनाइ छ। सडक निर्माणका लागि ठेक्का पाएको आशिष हाम्रो जेभी सुर्खेतसँग सम्झौताको लागि छलफल भइरहेको पनि उनले जानकारी दिएका छन्।