म्याग्दी । रघुगङ्गा गाउँपालिकाको गलेश्वर–पिप्ले–भगवती–बेगखोला सडक कालोपत्र गर्न पुन: शुरु गरिएको छ । गत जेठ महिनादेखि रोकिएको रघुगङ्गा–३ पिप्लेदेखि वडा नम्बर २ को भगवती जोड्ने सडक कालोपत्रे गर्न पूर्वाधार विकास कार्यालयद्वारा सञ्चालित आयोजना पुन: शुरु गरिएको हो ।
कोरोना भाइरसको जोखिम, निषेधाज्ञा र बर्खाको प्रतिकूल मौसमका कारण रोकिएको आयोजनाका काम व्यवसायीले सुचारु गरेको कार्यालय प्रमुख सन्तोष अर्यालले जानकारी दिए ।
गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र १ नमूना सडक कार्यक्रम’ अन्तर्गत विसं २०७६ देखि शुरु भएको आयोजनाको एपेक्स–खड्का कृष्ण जेभीले रु १८ करोड ४९ लाख ८३८ मा ठेक्का सम्झौता गरेको थियो । विसं २०७८ जेठ २४ गते सकिएको ठेक्काको म्याद कोरोना भाइरस रोकथामका लागि गरिएको निषेधाज्ञाका कारण सरकारको नीतिअनुसार २०७८ चैत मसान्तसम्म थपिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।