काठमाडौं । सरकारले मारुती समेन्ट प्रयोग नगर्न निर्देशन दिएको छ ।गुणस्तरहीन सिमेन्ट उत्पादन गरेको भनि कारबाहीमा परेको मारुती सिमेन्ट विकास निर्माणको काममा प्रयोग नगर्न सरकारले निर्देशन दिएको हो ।
विकास निर्माणको काम गर्दै आएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालयले उक्त गुणस्तरहीन सिमेन्ट प्रयोग नगर्न निर्देशन दिँदै आफू मातहतका निकायलाई गुणस्तरहीत सिमेन्ट प्रयोग नगर्न परिपत्र नै जारी गरिसकेको छ । शहरी विकास मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद शर्माले गुणस्तरहीन निर्माण सामग्री प्रयोग नगर्न मन्त्रालय मातहतका निकायलाई निर्देशन दिएको बताए ।
मारुती सिमेन्टबाट निर्माण गरिएका विकास निर्माणको कामसमेत गुणस्तरहीन देखिन थालेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक उच्च कर्मचारीले बताए । नेपाल गुणस्तर तथा नापतौल विभागले विकास निर्माणसँगै नागरिकले निर्माण गर्ने घरमा समेत मारुती सिमेन्ट प्रयोग नगर्न आग्रह गरेको छ ।
गुणस्तरहीत सिमेन्ट प्रयोग गर्दा हाल निर्माणाधीन विकास निर्माणको कामसमेत प्रभावित भएको भन्दै विभागले देशको ठूला विकास आयोजनामा प्रयोग हुँदै आएको मारुती सिमेन्ट प्रयोग नगर्न सरोकारवालाहरूलाई आग्रह गरेको हो ।