काठमाडौं। सडक विभागका अनुसार पहिरोका कारण अवरुद्ध भएकामध्ये हाल देशभर १८ सडक एकतर्फी सञ्चालन भएका छन्। विभागले आज बिहान दिएको विवरण अनुसार अवरोध पन्छाएर १८ वटा सडक एकतर्फी रुपमा सञ्चालनमा आएका हुन्।
म्याग्दीको नौनीबगर, गुइथे, काभ्रे र बैसरी तथा पाल्पाको ढुंगाखानीमा पहिरो जाँदा तानसेन–रिडी–कोरला सडक एकतर्फी भएको छ ।
लमजुङको खरखरे भिर र मनाङको तिमाङमा पहिरो जाँदा डुम्रे–बेशीसहर–चामे सडक पनि एकतर्फी सन्चालन भइरहेको छ ।
यसैगरी संखुवासभाको मुढे, हाइटार र दोभानमा पहिरो जाँदा कोशी राजमार्ग एकतर्फी भएको छ ।
सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको हिउदे खोला, दोभान र गउडे पुलमा भएको क्षतिका कारण सडक एकतर्फी भएको छ ।
कर्णाली राजमार्ग र राप्ती राजमार्गमा पनि यातायातका साधन एकतर्फी सन्चालन भइरहेका छन् । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको दहीखोला र राप्ती राजमार्ग अन्तर्गत सल्यानको चोरखोलामा पहिरो खसेको छ ।
अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको दाक्लुङ र हिँडीमा आएको समस्याले काठमाडौं–धुलिखेल–दोलालघाट–खाडीचौर(कोदारी सडकखण्ड पनि एकतर्फी भएको सडक विभागले जनाएको छ ।