सिन्धुपाल्चोक। सिन्धुपाल्चोकमा भूकम्पले भत्काएको ८ वर्षपछि अस्पताल भवन निर्माण सम्पन्न भएको छ। त्रिपुरासुन्दरी गाउँपालिका–१, मा बर्थिङ सेन्टरसहितको स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भएको छ।
घोर्थलीमा सघन सहरी तथा भवन निर्माण आयोजनाले एक करोड ४४ लाख लागतमा उक्त भवन निर्माण गरेको हो। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले केही दिनअघि मात्र उक्त स्वास्थ्य चौकी भवनको उद्घाटन गरे।
त्रिपुरासुन्दरी गाउँपालिकाको चार वटा वडामा स्वास्थ्य चौकी निर्माण भइसकेको र दुईवटा वडामा भवन निर्माण भइरहेको छ।
भूकम्पले सिन्धुपाल्चोकमा ७३ स्वास्थ्य चौकी र नौ सामुदायिक स्वास्थ्य एकाइ भवन पूर्ण रूपमा ध्वस्त बनाएको थियो। तीन नगरपालिका र नौ गाउँपालिका रहेका सिन्धुपाल्चोकका १०३ वटै वडामा स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न हुने क्रममा छ।
कुनै वडामा स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य एकाइ, आधारभूत अस्पताल निर्माण गरी स्थानीयलाई स्वास्थ्य सेवा प्रदान गरिरहेको स्वास्थ्य कार्यालय चौताराले जनाएको छ।
भूकम्प गएको आठ वर्षसम्म दुर्गमका स्थानीयले स्वास्थ्य सेवा र उपचार सहज रूपमा पाएका थिएनन् तर अहिले धमाधम स्वास्थ्य चौकी निर्माण सम्पन्न हुन थालेपछि दुर्गम भेगका स्थानीयले सहज रूपमा स्वास्थ्य सेवा पाउन थालेका छन्।