काठमाडौं। हरिसिद्धि टौखेल सडक कालोपत्रे नगरेको भन्दै स्थानीयवासी सडक नै बन्द गरेर प्रदर्शनमा उत्रिएका छन्। ललितपुर ठैव बाँडेगाँउका कृष्णमुकुन्द महर्जनका अनुसार बाँडेगाँउ, सिभिलचोक ठैबमा डोरी, ड्रम, साइकल र ढुंगा लगायतका सामान राखेर सोमबार बिहानैदेखि बाटो बन्द गरिएको छ।
लामो समयदेखि ठेकेदारले सडक कालोपत्रे गर्ने भने पनि कामै नगरेपछि सडक बन्द गरेर आन्दोलन गर्नुपरेको महर्जनले जानकारी गराएका छन्। लामो समयसम्म सडकमा ग्राभेल राखेर छोडेपछि अहिले सडक खाल्टैखाल्टामा परिणत भएको छ।
स्थानीयलाई बाँडेगाँउस्थित प्रहरी वृत्तबाट वार्ताका लागि बोलाइएको उनले बताएका छन्। स्थानीयवासी सल्लाह गरेर वार्तामा जाने तयारी भइरहेको छ। गोदावरी नगर १४ का वडाध्यक्षले कच्ची सडकमा धुलोधुवाँ उडेर सडक वरपरका बासिन्दा बस्नै नसक्ने अवस्था आएको र स्थानीयलाई सडक बन्न लागेको छ भनेर आफूले सम्झाउने अवस्था नरहेको जनाएका छन्।
खाल्टोका कारण धेरै मोटरसाइकल सडक दुर्घटना बढ्नुको साथै स्थानीयले सास्ती ब्यहोर्नु परेको छ। स्थानीय प्रशासन र मन्त्रालयसम्म ठेकेदारलाई छलफलमा ल्याउँदा मंसिरसम्म बनाइसक्ने आश्वासन दिएको जानकारी दिँदै भोलिबाटै काम नगरे स्थानीयले अझैं केहीदिन बन्द गर्ने उनले जानकारी गराएका छन्। सो सडक सिएम कन्स्ट्रक्सनले कालोपत्र गर्न ठेक्का पाएको थियो। केही समयअघि गोदावरीको बाँडेगाँउदेखि बसपार्कसम्म १६ मिटर कालोपत्र भइसकेको छ।