काठमाडौं। प्रदेश १ का ८५ इँटा उद्योगमध्ये अधिकांशले कोइलाको अभावमा काँचो इँटाको काम शुरू गर्न सकेका छैनन्। इँटा उद्योगमा प्रयोग हुने प्रमुख इन्धनको रूपमा रहेको पत्थर कोइला भारतबाट आायत हुन्थ्यो। हाल भारतले कोइला निकासी प्रतिबन्ध लगाएपछि अहिले अमेरिका र इन्डोनेशियाबाट ३ सय प्रतिशतसम्म बढी मूल्य तिरेर ल्याउनु परिरहेको इँटा उद्योगीहरूले गुनासो गरेका छन्।
नेपाल उद्योग परिसंघका प्रदेश १ का अध्यक्ष तथा एवीआई इँटा उद्योगका सञ्चालक भीम घिमिरेले २ वर्ष कोरोनाको कारण इँटा उत्पादननै हुन नसकेको र यो वर्ष इँटा उत्पादन भए पनि कोइला र ज्याला बढेकाले मूल्य वृद्धि हुने जानकारी गराएका छन्। यो वर्ष इँटाको मूल्य २३ रुपैया प्रतिगोटाबाट २५ रुपैयाँसम्म पुग्ने अनुमान गरिएको छ। २ वर्षअघि एक नम्बर इँटाको मूल्य प्रतिगोटा १८ रुपैयाँ थियो।तर हाल इँटाको मूल्यमा प्रतिगोटा ७ रुपैयाँ बढेको छ।
९६ डलर प्रतिटनमा २ वर्ष अघिसम्म पाइने कोइला हाल २८० डलर पुगेको छ। नेपालमा प्रतिटन ४० देखि ४२ हजार रुपैयाँसम्म पर्छ। तर, अमेरिका र इन्डोनेशियाबाट पानी जहाजबाट ढुवानी भएर आइपुग्न कम्तीमा ६ महीना लाग्ने भएकाले इँटा उद्योगलाई कोइलाको अभाव हुने भएको हो। कोरोनाको कारण अघिल्लो २ वर्षदेखि भारतको पश्चिमबंगालबाट आउने मजदूर नआउदा नेपालका इँटा उद्योगहरूले नयाँ इँटा उत्पादन गर्न सकेका थिएनन्। केही नगन्य उद्योगले स्वदेशी कामदार लगाएर इँटा उत्पादन गरे पनि त्यसले बजार धान्न सकेको थिएन।
त्यसैगरी कोरोना महामारी शुरू हुुनुपूर्व १८ रुपैयाँ प्रतिगोटा रहेको इँटाको मूल्य उद्योगको उत्पादन ठप्प भएपछि बढेर २३ रुपैयाँ पुगेको हो। यस पटक पनि कोइलाको मूल्य र भारतीय कामदारको मूल्य बढेका कारण नयाँ इँटा २५ रुपैयाँ गोटामा मात्र बजार पठाउन सकिने उद्योगीले जानकारी दिएका छन्।