म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से झरनामा बेली ब्रिज निर्माण गरिएको छ। बाढीले अस्थायी पुल र निर्माणाधीन पुल बगाएको तीन वर्षपछि राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम कोरला सडकअन्तर्गत रुप्से झरनामा बेली ब्रिज निर्माण सम्पन्न भएको हो।
यस सडकखण्डको स्तरोन्नतिसँगै बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत ४८ मिटर लामो बेली ब्रिज निर्माण गरी हाल नियमित सञ्चालनमा आएको छ।
बेली ब्रिज निर्माणसँगै २५० मिटर सडक स्तरोन्नति गर्न बेनी–जोमसोम–कोरला सडक आयोजनाले मुक्तिनाथ निर्माण सेवासँग एक वर्षमा निर्माण सक्ने गरी गत पुसमा ३ करोड ५९ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।
ठेक्काको समय एक वर्षको भए पनि निर्माण कम्पनीले करिब ८० प्रतिशत काम ६ महिनामै सम्पन्न गरेको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ।
बेली ब्रिज ३ महिनामै जडान भएको छ। पुल संरक्षणका लागि वारिपारि आवश्यक संरचना निर्माण गरिएकाले रुप्सेमा बाढी आए पनि पुल सुरक्षित हुने आयोजनाको भनाइ छ।