हुम्ला। कर्णाली कोरिडोरअन्तर्गत कालीकोटको नरहरिनाथ गाउँपालिका–१ खुलालुदेखि हुम्लाको हिल्सासम्म जोड्ने खुलालुमा ९ वर्षपछि पक्की पुल निर्माण सम्पन्न भएको छ।
उक्त पुल निर्माण गर्न २०६७ सालमा योजना सम्झौता भई २०६८ सालमै काम सक्नुपर्ने बताइएको थियो। पुलको ठेक्का कन्काई नेपाल प्रगति जेभीले करीब १४ करोडमा पाएको थियो। एक महिनाभित्र नै पुल सञ्चालनमा आउने कम्पनीका सञ्चालक दीपक मैनालीले जानकारी दिए।
कालीकोट नरहरिनाथ गाउँपालिका–९ लालुका स्थानीय शिक्षक नवराज शाहीका अनुसार कोरिडोरमा पुल नहुँदा नजिकैको जितेगडा बजारस्थीत फेरीबाट कर्णाली नदीमा सवारीसाधन तार्ने गरिएको थियो। पुल निर्माण भएपछि कोरिडोर क्षेत्रमा यातायातमा साधन सञ्चालनका लागि सहज हुने उनले बताए।
कोरिडोरको पक्की पुल सञ्चालनमा आएपछि कालीकोट, बाजुरा, मुगु र हुम्लाका स्थानीयवासीलाई सहज हुनेछ,’ उनले भने, ‘पक्की पुल नबन्दा ढुवानी धेरै खर्च लाग्ने र कर्णाली राजमार्गबाट कर्णाली कोरिडोरसम्म भारी बोकेर सामान ओसार्नुपर्ने बाध्यता रहेको थियो। अब त्यो समस्या पूर्णरूपमा अन्त्य हुनेछ।’
कोरिडोरको पक्की पुल सञ्चालनमा आएमा सुर्खेत, नेपालगञ्जदेखि हुम्लासम्मका सवारीसाधन सीधै जाने बाटो खुल्ने पचालझरना गाउँपालिकाका अध्यक्ष खड्कराज सेजुवालले जानकारी दिए।