काठमाडौं। विद्युतको आपूर्ति सहज भएसँगै सिमेन्ट उद्योगहरुले यतिबेला बिजुलीको माग बढाएका छन् । हाल देशभरका धेरै सिमेन्ट उद्योगले विद्युत प्राधिकरणसँग थप बिजुली माग गरिरहेका छन् । प्राधिकरणले उद्योगको माग बमोजिम विद्युत उपलब्ध गराउनासाथ सिमेन्टको मूल्य घट्ने सम्भावना बढेको हो ।
नेपाल सिमेन्ट उत्पादक संघको विवरण अनुसार सिमेन्ट उद्योगहरुले तत्कालै करिब एकसय मेगावाट बिजुली माग गरेका छन् । संघले बिजुली पर्याप्त पाए सिमेन्टको मूल्य बोरामा १० रुपैयाँसम्मले घट्ने अनुमान गरेको हो ।
सिमेन्ट उद्योगको कच्चा पदार्थ भट्टीमा गलाउन कोइला अनिवार्य हुन्छ । त्यसबाहेक अरु मेसिनहरु भने बिजुलीबाट सञ्चालन गर्न सकिन्छ । सिमेन्ट उद्योगको कुल खर्चको २५ प्रतिशत कोइलामा हुने गर्छ । बिजुलीको सहज उपलब्धताले अरु खर्च पनि घट्न सक्ने उद्योगीहरुको भनाइ छ ।
विद्युत उपलब्धताले डिजेलमा हुने खर्च जोगाउनुका साथै सिमेन्ट उत्पादनको लागत घटाउने हुँदा पनि सिमेन्टको मूल्य कम पर्न जान्छ ।
माग भन्दा विद्युत उत्पादन बढेपछि हाल नेपालमा करिब ५०० मेगावाट बिजुली उपभोग हुन नसकेर खेर गइरहेको छ । कार्यकारी निर्देशक कुलमान घिसिङले बिजुली खपत बढाउन औद्योगिक क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको बताउँदै आएका छन् । त्यसमा पनि पाँच सय मेगावाट विद्युत खेर गइरहेको बेला सिमेन्ट उद्योगले जम्मा एक सय मेगावाट विद्युत माग गरेका छन् ।
विद्युत पर्याप्त भएका कारण सिमेन्ट उद्योगले आवश्यक बिजुली प्राप्त गर्ने निश्चित छ । उद्योगले पर्याप्त बिजुली प्राप्त गरेसँगै सिमेन्टको मूल्य घट्नेमा पनि उपभोक्ता ढुक्क छन् ।
सिमेन्टको मूल्यमा गिरावट आउनासाथ देशमा विकास निर्माणका काममा पनि सहजता हुने देखिएको छ ।