एजेन्सी। अमेरिकाको हवाई टापुमा पर्ने माउई काउन्टीको एक जंगलमा आगलागी भएको छ । आगलागीमा परी अहिलेसम्म ५३ जनाको मृत्यु भएको जनाएको छ ।आगलागीमा परी ऐतिहासिक सहर लहेना नराम्ररी प्रभावित भएको छ । आगलागीमा परी कम्तिमा एक हजार मानिस अझै बेपत्ता रहेको संचार माध्यमले जनाएका छन् ।
हवाई गभर्नर जोस ग्रीनले आफ्नो फेसबुक पेजमा आगलागीको भिडियो शेयर गरेका छन् । उक्त भिडियो फुटेजमा आगलागीबाट शहर भग्नावशेषमा परिणत भएको देख्न सकिन्छ । यो घटनालाई गभर्नर ग्रीनले अत्यन्तै असाधारण र दुखद भन्दै यस आगलागीबाट १ हजारभन्दा बढी भवन जलेर नष्ट हुने अनुमान गरेका छन् । उनले आगलागीलाई राज्यको इतिहासकै सबैभन्दा ठूलो विपद् भनेका छन् । उनले आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने बताएका छन् ।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आगोको परिमाण देखाउने तस्बिर सार्वजनिक गरेको छ भने अमेरिकी राष्ट्रपति जो बाइडेनले हवाईको जंगलमा लागेको आगलागीलाई ठूलो प्रकोप घोषणाको संज्ञा दिएका छन् । आगलागीपछि हजारौं पर्यटक र स्थानीय मानिसहरूलाई अस्थायी आश्रयमा सारिएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।