हेटौंडा। उधोगले यसअघि ७ सय ४७ रुपैँयामा विक्रि गर्दै आएको ओपीसी सिमेन्टको मुल्य घटाएर अहिले प्रतिबोरा सात सय २ रुपैँयामा विक्रि गर्ने निर्णय गरेको छ। निजि क्षेत्रको उधोगहरुले बजारको माग अनुसार मुल्य निर्धारण गरी सिमेन्टको मुल्य घटाएसँगै हेटौंडा सिमेन्टले पनि मुल्य घटाउने निर्णय गरेको हो। हेटौंडा सिमेन्टले पनि बजारको माग र निजि क्षेत्रको उधोगले निर्धारण गरेको मुल्यसँग प्रतिस्पर्धा गर्ने भएको छ।
हेटौंडाकै शिवम् सिमेन्ट उधोगले ओपीसी सिमेन्ट ६ सय ८० र रिद्धिसिद्धि सिमेन्ट उधोगले ओपीसी सिमेन्ट बोराको सात सयमा वित्रि गर्दै आएको छ। निजि क्षेत्रका सिमेन्ट उधोगहरुले भुक्तानि गर्दा नगद छुटको साथै विक्रि गरेको आधारमा बोनस पनि दिने गरेको छन्।
सरकारी स्वमित्वमा रहेको हेटौंडा सिमेन्ट उधोग विगत तीन वर्षदेखि घाटामा गएको छ। कोरोनाको असहज वातावरण र सिमेन्टको विक्रिमा आएको गिरावटको कारण २०७७/७८ मा लगभग ३ करोड घाटामा गएको अनुमान रहेको छ। यसअघि ७५/७६ मा १६ करोड भन्दा माथि र ७६/७७ मा २४ करोड घाटा बेहोरेको थियो।
लामो समयपछि नाफा गर्न थालेको अवस्थामा कोरोनाको असहज परिस्थितिको कारण र मेसिनमा बेलाबेलामा आउने समस्याको कारणले गर्दा विगत दुई वर्ष देखि योजना अनुसार उत्पादन र विक्रि गर्न नसकेको कारण उधोग घाटामा गएको हो।