काठमाडौं। हेटौँडामा मातृ शिशु सेवा सञ्चालनका लागि भवन निर्माण गर्न हेटौंडा उपमहानगरपालिका र हेटौँडा अस्पताल व्यवस्थापन तथा विकास समितिबीच सम्झौता भएको छ।
हेटौँडा उपमहानगरपालिकाले हेटौँडामा मातृ शिशु सेवा सञ्चालनका लागि तयारी थाल्न हेटौँडा अस्पताललाई सहयोग उपलब्ध गराउने गरी सम्झौता भएको हो।
सम्झौताअनुसार उपहानगरले अस्पताल विकास समितिलाई ८० लाख रुपैयाँ मातृ शिशु सेवा कक्ष निर्माण गर्न सहयोग प्रदान गर्नेछ । उपमहानगरका नगर प्रमुख मीनाकुमारी लामाले भवन निर्माण सम्झौतासँगै चालु आर्थिक वर्ष २०८०–८१ बाट अस्पतालको नयाँ भवनको माथिल्लो तल्लामा मातृशिशु कक्ष निर्माण गर्ने सम्झौता भएको जानकारी दिए।
जिल्लामा व्यवस्थित अस्पताल सञ्चालन गर्नसके उपचारका लागि बाहिरी जिल्लामा जानुपर्ने अवस्थाको अन्त्य हुने भन्दै उपमहानगरले लिएको नीति तथा कार्यक्रमअनुसार हेटौँडामा मात्रृशिशु (प्रसुति) अस्पताल सञ्चालन गर्न पहिलो चरणको काम सुरु भएको उपमहानगरले जनाएको छ।
तीन किस्तामा उपमहानगरपालिकाले निकासा गर्ने बजेटबाट अस्पताल व्यवस्थापनले ठेक्कामार्फत भवन निर्माण गर्नुपर्ने छ। अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईँले आगामी चैतसम्ममा भवन निर्माण सम्पन्न गर्ने लक्ष्यसहित भवन निर्माण कार्य अघि बढाइने बताए।