काठमाडौं। नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनलाई मध्यनजरगर्दै बुटवल–नारायणगढ सडक हुँदै गुड्ने ठूला सवारीसाधनमा रोक लगाइएको छ। दाउन्नेमा हुने जामलाई मध्यनजरगर्दै पूर्वी र पश्चिम नवलपरासी जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको बुधबार अबेर नवलपुरमा सम्पन्न बैठकले बिहीबार साँझ ६ बजेदेखि शुक्रबार राति १२ बजेसम्मका लागि ठूला सवारीसाधनको आवागमनमा रोक लगाइएको हो।
खासगरी दाउन्ने सडकको जामलाई लक्षित गर्दै सवारीसाधनमा रोक लगाइएको पश्चिम नवलपरासीका प्रमुख जिल्लाले जानकारी दिएका छन्। साँघुरो र उकालो–ओरोलो सडक रहेको दाउन्नेमा मालबहाक सवारीसाधनका कारण दिनहुँ जाम हुने गरेको छ। त्यस्तै महाधिवेशनमा आउने सवारीसाधनको संख्या बढी हुने भएकाले त्यसको सहजताका लागि सवारीसाधनमा रोक लगाइएको उनले बताएका छन्।
यसैगरी सो क्षेत्रमा जाम भइहालेको अवस्थामा तत्काल बाटो खुलाउन क्रेनेका पनि व्यवस्था गरिएको छ। लुम्बिनी, कर्णाली र सुदुरपश्चिम हुँदै आउने मानिस दाउन्ने सडक हुँदै यात्रा गर्ने गर्दछन्। लुम्बिनी प्रदेशबाट मात्रै ८० हजार कार्यकर्ताहरु महाधिवेशन उद्धघाटन कार्यक्रममा सहभागी हुने गरी व्यवस्था मिलाइएको एमाले लुम्बिनी प्रदेश कमिटीका सचिव भूमिश्वर ढकालले जानकारी दिएका छन्।
दाउन्ने सडकको अवस्थाका कारण मालबहाक ट्रक, टिपर र अन्य खाली ट्रकलाई पूर्ण रुपमा रोक लगाइएको छ भने बुटवल हुँदै काठमाडौं जाने यात्रुबहाक बसलाई पनि पोखरा हुँदै आवतजावत गर्ने गरी व्यवस्था मिलाइएको कुरा प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन्। त्यसैगरी अन्य निजी गाडीहरुलाई पनि पोखरा हुँदै आवतजावतको व्यवस्था मिलाउन लुम्बिनी प्रदेश ट्राफिक कार्यालयसँग समन्वय गरिएको उनले जानकारी दिएका छन्।
यसैगरी पूर्वपश्चिम भएर गुडने सवारी साधनलाई आज साँझदेखि नै रुपन्देही र गैंडाकोटबाट रोक लगाइने भएको छ। आवतजावतमा थप सहजता ल्याउन ४ वटै सुरक्षा निकायका २ जनाका दरले सम्पर्क अधिकारी तोकेर संयुक्त गस्तीलाई परिचालन गरिएको पूमुख जिल्ला अधिकाले जानकारी दिएका छन्। एमालेको राष्ट्रिय महाधिवेशनको उद्धघाटन कार्यक्रम चितवनको नारायणी किनारमा मंसिर १० गते हुने साथै सो उद्धघाटन कार्यक्रममा एमालेले ५ लाख मानिस भेला गर्ने जाननकारी दिएको छ।