कास्की। पोखरामा अन्नपूर्ण केबलकारको केही दिनमा परीक्षण हुने भएको छ। जडान भएका गोन्डला (यात्रु बोक्ने डिब्बा) र टावरहरुको परीक्षण गर्न जापानबाट आएको ७ सदस्यीय प्राविधिक टोलीले धमाधम काम गरिरहेका छन्। अब केही दिनमै केबलकार परीक्षण हुन लागेको अन्नपूर्ण केबलकारका निर्देशक एवं सञ्चालक तीर्थराज त्रिपाठीले जानकारी दिएका हुन्।
उनले भने, “अब हामीले अंग्रेजी नयाँ वर्षदेखि अनौपचारिक रुपमा केबलकार सञ्चालन गर्छौं । फेब्रुअरीदेखि व्यावसायिक रुपमै केबलकार सञ्चालन हुने गरी तयारी गरेका छौं ।”
परियोजनाका प्राविधिक इन्चार्ज डिएन कायस्थले केही दिनपछि लोड परीक्षण गरी छिटै व्यावसायिक रुपमा सञ्चालन गर्ने तयारी गरिएको बताए। अन्तराष्ट्रिय मापदण्ड अनुसार सबै प्रकारको चरण पार गरेपछि मात्र व्यावसायिक रुपमा सञ्चालन गर्ने उनले जनाए। अत्याधुनिक प्रविधिमा आधारित उपकरण जडान भएकोले पूर्ण सुरक्षित हुने प्राविधिक इन्चार्ज कायस्थको भनाइ छ।
करिब डेढ वर्षमा निर्माण कार्य सक्ने योजनाका साथ उक्त केबलकारको शिलान्यास गरिए पनि पहिलाको डिजाइनमा स्टेशनसहितको भवन संरचना परिवर्तन हुनु, जग्गा खरिद गर्दा लगायतका कारणले उक्त परियोजना लम्बिएको र लगानी पनि करिब २ अर्ब पुग्ने भएको निर्देशक त्रिपाठीले बताए। २.४ किलोमिटर दूरीमा १८ वटा टावर रहेका छन् भने एक सामान बोक्नेसहित १८ वटा गोन्डला रहेका छन्।