खोटाङ। साकेला गाउँपालिकाका विभिन्न स्थानमा ‘डस्टबिन’ राख्न सुरु गरिएको छ। पालिकालाई ‘सरसफाइमैत्री पालिका’ निर्माण गर्न बजार, पार्क, सार्वजनिकस्थल तथा कार्यालयमा ‘डस्टबिन’ राख्न सुरु गरिएको हो।
गाउँपालिकाले मानेभञ्ज्याङदेखि नौलाखर्कसम्मको बजार, पार्क तथा सडकमा फालिएका फोहरमैला हटाउनुका साथै आवश्यक पर्ने र बढी जनघनत्व हुने ठाउँमा डस्टबिन राखेको छ । गाउँपालिकाको समृद्धिका लागि हरेक दिन विविध गतिविधि गर्दै आएको पालिकाले सार्वजनिक बिदाका दिनमा समेत फोहरमैला व्यवस्थापन र सरसफाइका क्षेत्रमा काम गर्दै आएको छ ।
गाउँपालिकाले सुरु गरेको अभियानमा गाउँपालिकाअन्तर्गतका सबै कर्मचारी औपचारिक पोशाक लगाएरै उत्साहका साथ सहभागी हुने गरेका छन् । गाउँपालिकाले सबै वडाअन्तर्गतका विद्यालय, स्वास्थ्य संस्था, सार्वजनिकस्थल, सडक तथा पार्कमा फोहरमैला व्यवस्थापनका लागि डस्टबिन राख्ने गरेको छ ।