काठमाडौं। कर्णाली प्रदेशमा तीन वर्षको अवधिमा करिब ७९ किलोमिटर सडक कालोपत्र भएको छ। तीन आर्थिक वर्षमा कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले करिब ७९ किलोमिटर सडक कालोपत्र गरेको हो ।
दश जिल्लाको सडक कालोपत्रसम्बन्धी समीक्षा कार्यक्रममा ७८ किलोमिटर ९५ मिटर सडक कालोपत्र भएको मन्त्रालयले जनाएको छ।
आव २०७७/७८ मा ३३.०२ किलोमिटर, २०७८/७९ मा १५.९० किलोमिटर सडक कालोपत्र भएको भएको मन्त्रालयका सूचना अधिकारी रमेश सुवेदीले बताए । सुवेदीका अनुसार आव २०७९र८० मा ३०.०३ सडक कालोपत्र भएको छ । त्यस्तै दस जिल्लामा ४३.०१ किलोमिटर सडक ग्राभेल गरिएको बताइएको छ ।
सडकको स्तरोन्नति र नाला निर्माणको कामसमेत भएको छ । आव २०७७/७८ मा ४५.६५ किलोमिटर, आर्थिक वर्ष २०७८/७९ मा ४१.३८ किलोमिटर र आव २०७९र८० मा १२९.२५ गरी जम्मा २१६.२८ किलोमिटर सडकको स्तरोन्नति र नाला निर्माण भएको बताइएको छ । उक्त तीन आर्थिक वर्षमा मन्त्रालयले दस जिल्लामा ५५ वटा झोलुङ्गे पुल र २२ वटा पक्की पुल बनाएको छ ।